भक्तपुर, १४ मङ्सिर । ख्वप मा.वि.मा कानुन विषय लिई कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरूलाई भक्तपुर काण्ड (भदौ ९) र जालसाजी मुद्दाबारे जानकारी दिने उद्देश्यले बिहीबार विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप मा.वि. सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले न्याय भनेको दिनेले होइन अन्यायमा परेकोले न्याय पाएको अनुभूति गर्नुपर्छ भन्नुभयो ।
पञ्चायतकालमा रहेका ३६ वटा नगरपञ्चायतमध्ये भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान सङ्गठनका सदस्यहरूले जिती जनताको सेवा गरेको र पञ्चायती व्यवस्थाभित्र पसेर पञ्चायतको भण्डाफोर गरेको सहन नसकी पञ्चहरूले राज्यस्तरबाट भक्तपुर काण्डको षड्यन्त्र रचेको र त्यो षड्यन्त्र असफल भएको उहाँले बताउनुभयो ।
६७ जनालाई फसाइएको उक्त मुद्दामा १३ जनालाई सर्वस्वसहित मृत्युदण्डको माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिँदै उहाँले यस्तै घटना जर्मनीको नाजी सरकारले त्यहाँका कम्युनिस्टहरूलाई दबाउन आफैँले संसद् भवन राइखस्तागमा आगलागी गरी त्यसको आरोप कम्युनिस्टहरुलाई लगाई षड्यन्त्र रचेको उल्लेख गर्नुभयो ।
ज्ञानको दायरा फराकिलो बनाउन अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश, जनता र समाजको सेवा गर्ने उद्देश्य राख्नुपर्नेमा जोड दिनुभयो ।
‘कालो कोटको कालै धन्दा’ भन्ने गलत उक्तिलाई बदल्नैपर्ने धारणा राख्दै उहाँले अन्यायमा परेका र कानुनमा पछि परेकालाई सहयोग गर्नेतर्फ कानुनका विद्यार्थीहरूले ध्यान दिनुपर्छ भन्नुभयो ।
कानुन भनेको अनुशासितरूपमा समाजलाई अगाडि बढाउन हुनुपर्नेमा त्यसो नभई शासक पार्टीहरूले कानुनी डकैती गरी भ्रष्टाचारलाई प्रोत्साहन गरिरहेको प्रमुख प्रजापतिले भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले देश र जनताको पक्षमा लड्ने कानुन व्यवसायी अहिलेको आवश्यकता हो भन्नुभयो ।
कानुन शिक्षाको महत्वबारे जानकारी दिँदै उहाँले कानुनका विद्यार्थी समाज विज्ञानको इन्जिनियर हुने धारणा राख्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नेपाल जेलहरूमा रहेका बन्दीहरूमध्ये २० देखि ३० प्रतिशत झूटा मुद्दामा फसाइएकाहरू रहेको एक अध्ययनले देखाएको चर्चा गर्दै त्यस्ता निर्दोष बन्दीहरूलाई सहायता गर्ने काममा कानुनका विद्यार्थीहरू अघि बढ्नुपर्छ भन्नुभयो ।
सत्ता टिकाउनको लागि राज्यले जस्तोसुकै षड्यन्त्र गर्न सक्नेतर्फ विद्यार्थीहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र शिक्षक राजु कैतीले पनि बोल्नुभएको थियो ।